Uncategorized

निर्वाचनका समयमा आमसञ्चार माध्यमको भूमिका

bipul_CIl1jJogJy
Written by tinaufm

मंसिर ४, २०७४ यतिबेला नेपाली समाज मात्र होइन, मिडियाहरूलाई पनि चुनाव लागेको छ। चुनावसँग सम्बन्धित सामग्रीहरू नै अहिले सञ्चार माध्यमका प्रमुख र रोचक समाचार हुन थालेका छन्। चुनावी रिपोर्टिङका क्रममा जनस्तरवाट नेपालको राजनीतिसँग गरिएका अपेक्षाहरू प्नि आइरहेका छन्। नागरिकको चाहनाले उनीहरूको चेतनाको स्तर पनि देखाइरहेको छ।  समाज परिवर्तनको अभियान थाल्दा भुल्नै नहुने कुरा भनेको त्यस समाजका नागरिकको चेतनाको स्तरलाई बुझेर योजना बनाउनु हो। त्यसकारण आम सञ्चारका माध्यमहरूले यतिबेला राजनीतिक नेतृत्व र समाज परिवर्तनको अभियानसँग जोडिएकाहरूलाई नागरिकको अपेक्षा र नेपाली समाजको चेतनाको स्तर प्रष्ट्याउने काम गरिरहेका छन्। यो आफैँमा सकारात्मक छ।  यसबाहेक पनि नेपाली मिडियाले अर्को महत्त्वपूर्ण काम पनि गरिरहेका छन्, त्यो भनेको आचारसंहिताको अनुगमन हो। सञ्चार माध्यमहरूको नियमित अध्ययन गर्ने हो भने कहाँ कसरी आचारसंहिताको उलंघन भइरहेको छ भन्ने कुरा जान्न सहज हुन्छ। आचारसंहिताको पालनाका माध्यमबाट निर्वाचनलाई व्यवस्थित र वास्तविक जनमत प्रकट हुने अवसरका रूपमा स्थापित गर्न सकिन्छ।  अनुगमनका नाममा विभिन्न संरचनाहरू निर्माण भए तापनि, उनीहरूले उलंघनका घटनाहरूको प्रतिवेदन तयार गरिरहेको भए तापनि नेपालको मिडिकाको प्रभाव क्षेत्रको तुलनामा उनीहरूको नजर कमजोर नै प्रतीत हुन्छ। त्यसकारण मिडियाले स्वतस्फुर्त रूपमा गरेको अनुगमन यहाँ उल्लेख्य र महत्त्वपूर्ण हुनपुगेको छ। निर्वाचन आयोग र सरकारले मिडियामा आएका आधारमा आचारसंहिता उल्लंघनका घटना र प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउन र नियन्त्रको उपाय अपनाउन सक्छन्। निर्वाचनका सन्दर्भमा मिडियाको महत्त्वपूर्ण भूमिका यसरी पनि निर्वाह भइरहेको छ। निर्वाचनका क्रममा पत्रकारहरू विभाजित भएको, विभिन्न अनलाइनलगायतका माध्यमहरूले चरित्र हत्या गर्न लागेको गुनासो पनि छ। यस्तो प्रवृत्ति हटाउन अब गंभीर बहसको जरुरी भने छ। पहिलो कुरा त पत्रकारहरू आफैँले आफ्नो दायित्वबोध गर्ने हो। त्यसपछि पत्रकारहरूका संगठनले त्यसका सन्दर्भमा आचारसंहिता बनाउने हो। यस्ता अभ्यास भने नभएका होइनन्। पत्रकार महासंघको चितवन शाखाले औपचारिक रूपमै आचारसंहिता बनाएको छ। यो क्रम अब अगाडि बढ्छ नै। आवश्यकताले यस्ता मागहरू निर्धारण गर्ने हो।  मिडियालाई दुरूपयोग गराउनु भनेको एक प्रकारले जनमतलाई पनि दिग्भ्रमित पार्नु हो। नेपालको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि निर्वाचनवाट वास्तविक जनमत प्रकट हुने परिस्थिति निर्माण गर्न आवश्यक पर्छ।  निर्वाचनको सन्दर्भमा नेपाली मिडियाको अनुगमनको जिम्मा पाएको प्रेस काउन्सिल नेपालका अनुसार पनि यतिबेला नेपाली मिडिया निर्वाचनसँग सम्बन्धित विषयमा बढी केन्द्रित रहेको छ र आचारसंहिता उल्लंघनका समाचारहरू पनि नेपाली मिडियाका प्राथमितामा परिरहेका छन्। त्यसैगरी मतदाताको अपेक्षा र उम्मेदवारको प्रचारशैली पनि समाचारका विषय बनिरहेका छन्। तर, निर्वाचनको परिणाम अनुमानका क्रममा भने नेपाली मिडियामा केही मात्रामा सन्तुलन खस्कन पुगेको अनुभव प्रेस काउन्सिल नेपालको छ।  २०६४ सालको पहिलो संविधानसभादेखि लगातार सञ्चार माध्यमको अनुगमनको जिम्मा पाएको उक्त निकायले आफ्नो अनुभवका आधारमा मनपरेको उम्मेदवारको पक्षमा बढाइचढाइ गरेर लेख्ने प्रवृत्ति नेपाली सञ्चार माध्यमहरूमा रहेको पाइन्छ। भाषा र प्रस्तुतिमा फरक रहे तापनि अधिकांश मिडिया यो प्रवृत्तिबाट अछुतो रहन नसकेको प्रेस काउन्सिल नेपालको अनुभव छ। पछिल्ला निर्वाचनहरूमा मिडियाको प्रस्तुतिलाई हेर्ने हो भने एउटा साझा चाहनाका रूपमा कुनै उम्मेदवारको पक्ष लिने चाहना प्रकट हुँदै आएको छ। अझ अनलाइनहरूले त यस्तो चाहना धेरै नै राख्न थालेका छन्। चुनावको समयमा उम्मेदवार र तिनका एजेण्डाहरूको बारेमा छलफल हुनु र पक्ष लिनु स्वाभाविक नै हो। नेपाली समाज नै यतिबेला विभक्त भएकै छ। यो अवस्थामा सञ्चार माध्यम पूरै निष्पक्ष हुनुपर्छ भन्नु कोरा आदर्श मात्र हुन्छ कि जस्तो देखिँदै गएको छ।  चुनावकै समाचारमा त निष्पक्षता संभव हुन्छ नै, तर सिंगो मिडियाका सामग्रीहरू हेर्दा पूर्ण निष्पक्षता नरहन सक्छ। विचार पृष्ठहरू, अन्तर्वार्ताका पात्रहरू, जनमतका नाममा व्यक्त हुने धारणाहरूमा पक्षधरता प्रकट भइहाल्छ। यो सत्य कुरालाई पूर्ण बेवास्ता गर्न सकिँदैन। पूर्ण तटस्थता निर्वाचनका समयमा अपवादमा सीमित हुन जानेछ।  अब के गर्ने त? मिडियाले अब दुई रूपमा आफूलाई प्रस्तुत गर्न सक्छन्। एउटा त आफूले कुन एजेण्डालाई समर्थन गर्ने भन्ने विषय किटान गरेर त्यो एजेण्डा बोक्नेको पक्षमा सम्पादकीयमार्फत मत माग्न सक्छन्। तर, यसका लागि ‘यो निर्वाचनमा यो एजेण्डाको पक्षमा म छु’ भनेर मिडियाले पहिले नै स्वघोषणा गरेको हुन्छ। यसो गर्दा समाचारमा भने सन्तुलन मिलाउनै पर्छ। पत्रकारिताको सिद्धान्तलाई समाचारमा भने भुल्न पाइँदैन। सम्पादकीय र आफूले घोषणा गरेको एजेण्डाको पृष्ठपोषण हुने विचारहरू प्रवाह गर्न मिडियाहरू खुला हुन सक्छन्। यहाँनेर उम्मेदवारभन्दा एजेण्डामाथिको छलफल र तर्क प्रस्तुत गर्नुलाई मिडियाले आफ्नो दायित्व संझनुपर्ने हुन्छ।  त्यसैगरी अर्को कुरा भनेको सर्वेक्षण हो। चुनावका लागि विभिन्न संस्थाहरूले गरेका सर्वेक्षण अथवा आफैँले गरेको विश्वसनीय सर्वेक्षणका आधारमा मिडियाले चुनावमा सामग्री पस्कन सक्दछन्। यहाँ पनि कुन संस्थाले कुन विधिबाट सर्वेक्षण ग¥यो? भन्ने कुराको खुलासासहित मत सर्वेक्षणको आधारमा झुकाव देखाउनु स्वाभाविक हुनेछ। आफ्नै सर्वेक्षण भएको भए तापनि त्यसको विधि खुलासा गर्नुलाई आफ्नो दायित्व संझनुपर्दछ। अझ निश्चित संस्थासँग सर्वेक्षणका लागि सहकार्य गर्न पनि सकिन्छ। यसो गर्दा अझ विश्वसनीय हुन जान्छ।  नेपालका मिडियामा हालसम्म नभएका यी अभ्यासहरू अन्तर्राष्ट्रियस्तरमा भने नौला होइनन्। खासगरी लोकतान्त्रिक समाज र सामाजिक उत्तरदायित्वसहितको प्रेसको अभ्यास हुने ठाउँमा चुनावका बेला ऐजेण्डाका आधारमा पहिले नै सञ्चार माध्यमले कुनै दलविशेष वा उम्मेदवार विशेषलाई समर्थन गर्ने गरेका हुन्छन्। अमेरिका, बेलायतमा यस्तो अभ्यास रहेको पाइन्छ। त्यस्तै छिमेकी मुलुक भारतमा पनि सर्वेक्षणको अभ्यास निकै नै भएको पाइन्छ।  यसरी एजेण्डालाई समर्थन गर्ने संस्कृति बसाउँदै गर्दा कुनै दलविशेषलाई मात्र समर्थन गर्ने परम्परा बस्यो भने त्यो फेरि पनि स्वस्थ्यकर र विश्वसनीय हुन सक्दैन। त्यसैले स्थानीय ऐजेण्डा, राष्ट्रिय ऐजेण्डा दुवैलाई बराबरी महत्त्व दिएर त्यसको पक्षमा उभिँदा उचित हुन जान्छ। जस्तोः कर्णालीको विकास र समृद्धिको सन्दर्भमा कसको एजेण्डा उचित? मधेसका सन्दर्भमा कसको एजेण्डा उचित? हिमाली जिल्लाका सन्दर्भमा कसको ऐजेण्डा उचित? अर्थतन्त्रका सन्दर्भमा कसको एजेण्डा व्यावहारिक? पर्यटन प्रबर्द्धनमा कसको दृष्टिकोण उचित? जलस्रोतलगायत प्राकृतिक संपत्तिको संरक्षण र उपयोगका सन्दर्भमा कसको एजेण्डा उचित? यसरी विश्लेषणका आधारमा ऐजेण्डाप्रतिको समर्थन जनाउने संस्कृतिको विकास गर्नेगरी नेपाली मिडिया प्रस्तुत हुनसक्छन्। यी एजेण्डालाई पनि विश्लेषण गरेर कुन एजेण्डाको पक्षमा जनमत छ भनेर सर्वेक्षण पनि गर्न सकिन्छ।  यसरी नगएर उम्मेदवारसँगको सम्बन्धका आधारमा वा दलप्रतिको आस्थाका आधारमा मात्र पृष्ठपोषण गर्न थाल्यौँ भने क्षणिक तुष्टिभन्दा केही हात लाग्नेछैन। बरु उल्टो मिडियाप्रतिको विश्वसनीयता घट्नेछ। यस्तो हुनु भनेको एक अर्थमा मिडियाको दुरूपयोग हुनु नै हो। मिडियालाई दुरूपयोग गराउनु भनेको एक प्रकारले जनमतलाई पनि दिग्भ्रमित पार्नु हो। नेपालको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि निर्वाचनवाट वास्तविक जनमत प्रकट हुने परिस्थिति निर्माण गर्न आवश्यक पर्छ।  नेपाली मिडिया सधैँ लोकतान्त्रिक पद्धतिको पक्षमा आफूलाई उभ्याउँदै आएको क्षेत्र हो। अब लोकतान्त्रिकीकरणको प्रक्रियालाई मजबुत बनाउन र वास्तविक जनमत प्रकट हुने वातावरण बनाउनका लागि सञ्चार माध्यमले भूमिका खेल्नै पर्छ। सञ्चार माध्यममा दुई पक्ष हुन्छन्, व्यवस्थापन पक्ष र सम्पादन पक्ष। यी दुई पक्षका बीच सैद्धान्तिक र व्यावहारिक दुवै आधारमा सन्तुलित सम्बन्ध स्थापित हुन जरुरी छ। तर मिडियामार्फत आफ्ना सामग्री पस्कने तरिका र ती सामग्रीलाई विश्वसनीय बनाउने कुरामा त्यहाँको सम्पादन पक्ष नवीन विचार र सोचका साथ प्रस्तुत भइरहनुपर्छ।  नेपालमा चुनावी समयमा मिडियाको भूमिकाका बारेमा बहस चल्न आवश्यक देखिएको छ। त्यस बहसले सम्पादन पक्षलाई पनि केही ‘फिडव्याक’ दिन सक्छ। यहाँ उल्लेख गरिएकाबाहेकका विकल्पहरू पनि ती बहसहरूबाट निस्कन सक्छन्।

About the author

tinaufm

Leave a Comment